सिन्धुली क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा/जेन्जी) मा मबिन कुमार तामाङको उम्मेदवारी घोषणा
सिन्धुली – नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै सिन्धुलीमा युवा पुस्ताले सशक्त दाबी पेश गरेको छ। सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा/जेन्जी - ३५ वर्ष मुनि) तर्फ युवा नेता *मबिन कुमार तामाङ*ले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै तामाङले "युवा बदलिए, देश बदलिन्छ" भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएको बताउनुभएको छ।
उम्मेदवारी घोषणा गर्दै तामाङले भन्नुभयो, "यो केवल मेरो व्यक्तिगत उम्मेदवारी होइन, यो सिंगो युवा पुस्ताको आवाज हो। पुरानो पुस्ताको त्याग, संघर्ष र बलिदानलाई शिरमा राख्दै अब नयाँ सोच, नयाँ ऊर्जा र प्रविधिमैत्री नेतृत्वलाई पार्टीमा स्थापित गर्नैपर्छ। पुस्तान्तरण अब नारा होइन, आवश्यकता हो।"
यस्ता छन् तामाङका मुख्य प्रतिबद्धताहरु:
१. युवा सहभागिता र नेतृत्वको सुनिश्चितता
२. रोजगार, शिक्षा र उद्यमशीलतामा विशेष जोड
३. समावेशी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणमा कांग्रेसलाई अझ गतिशील बनाउने
अवैध शुल्क विरुद्ध कडा अडान
तामाङले आफ्नो उम्मेदवारी घोषणासँगै पार्टीभित्रको आर्थिक विकृतिविरुद्ध पनि कडा अडान राख्नुभएको छ।
"नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको आधिकारिक शुल्क तिर्न म पूर्ण रूपमा तयार छु। तर, त्यसभन्दा बाहिर गएर व्यक्तिको नाममा जबरजस्ती बढी शुल्क असुल्ने कार्य भयो भने म आफ्नो उम्मेदवारी तत्काल फिर्ता लिनेछु," तामाङले चेतावनी दिनुभयो।
उहाँको यो अडानले सिन्धुली कांग्रेसमा चलेको चर्को शुल्कको चर्चाबीच तरंग ल्याएको छ।
अन्त्यमा तामाङले सिन्धुली क्षेत्र नं. २ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मतको अपेक्षा गर्दै जय नेपालको नारा लगाउनु भएको छ।

Join the conversation