सिन्धुली कांग्रेसमा युवाको तरंग : क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा समीर बिक्रम थापा काजीको उम्मेदवारी
सिन्धुली । नेपाली कांग्रेसको १५औं महाधिवेशनको चहलपहल सिन्धुलीमा तीव्र रुपमा बढिरहेको बेला सिन्धुली प्रतिनिधि सभा क्षेत्र नं २ बाट युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा समीर बिक्रम थापा काजीले उम्मेदवारी घोषणा गरेका छन् ।
“युवा शक्ति, परिवर्तनको आधार” र “युवा पुस्ताको आवाज, समृद्ध सिन्धुलीको संकल्प” भन्ने मूल नाराका साथ उनले आफ्नो उम्मेदवारीलाई औपचारिक रुपमा सार्वजनिक गरेका हुन् ।
को हुन् समीर बिक्रम थापा काजी ?
समीर बिक्रम थापा काजी सिन्धुली कांग्रेसमा पछिल्लो समय उदाएका एक शिक्षित, जुझारु र दूरदर्शी युवा नेताको रुपमा परिचित छन् । विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूल राजनीतिमा सक्रिय रहँदै आएका उनले पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका काजीले सिन्धुलीका युवाहरु माझ आफ्नो बलियो पकड बनाएका छन् ।
यस्ता छन् ५ मुख्य एजेण्डा
उम्मेदवारी घोषणा गर्दै काजीले आफ्ना ५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् :
शिक्षित र सक्षम युवा नेतृत्व : पार्टीमा युवालाई निर्णायक तहमा पुर्याउने ।
रोजगार र उद्यमशीलता : सिन्धुलीका युवालाई स्थानीय स्तरमै रोजगार र स्वरोजगारसँग जोड्ने ।
शिक्षा र प्रविधिमा पहुँच : हरेक युवालाई आधुनिक शिक्षा र प्रविधिमा पहुँच दिलाउने ।
सुशासन र पारदर्शिता : पार्टी र राज्यका हरेक तहमा सुशासन कायम गर्ने ।
समृद्ध नेपाल, सुखी नेपाली : बिपीको विचार अनुसार समृद्धिको अभियानमा योगदान दिने ।
युवामा उत्साह
उनको उम्मेदवारी घोषणा सँगै सिन्धुली क्षेत्र नं २ का युवाहरुमा नयाँ उत्साह र आशा पलाएको छ । धेरै क्षेत्रीय प्रतिनिधिहरुले उनको उम्मेदवारीलाई परिवर्तनको संकेतको रुपमा हेरेका छन् । यदि युवा प्रतिनिधिले अवसर पाए भने कांग्रेसले सिन्धुलीमा नयाँ उचाइ हासिल गर्ने विश्लेषण गरिएको छ ।
यस बारेमा प्रतिक्रिया दिँदै थापा काजीले भने, “मेरो उम्मेदवारी पदका लागि मात्र होइन, विचार र परिवर्तनका लागि हो । सिन्धुलीको युवाको आवाजलाई अब केन्द्रीय महाधिवेशनसम्म पुर्याउनु मेरो प्रमुख दायित्व हुनेछ । सम्पूर्ण क्षेत्रीय प्रतिनिधि ज्यूहरुको अमूल्य मतको अपेक्षा गर्दछु ।”
क्षेत्र नं २ मा उनको उम्मेदवारीले आगामी महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धालाई निकै रोचक र पेचिलो बनाएको छ ।

Join the conversation