नेपाली कांग्रेसको १५औं महाधिवेशनको तयारी अन्तिम चरणमा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको तयारी तिव्र पारिएको छ। अविरल वर्षाका कारण क्षेत्रीय अधिवेशन प्रभावित भएपछि निर्वाचन समितिले महाधिवेशनको तालिका दुई दिन पछाडि सारेर असोज १८ देखि २२ गते सम्म पुर्याएको छ।
यसअघि असोज १६ देखि १९ गतेसम्म गर्ने तय थियो। प्रतिनिधि दर्ता भने पूर्वनिर्धारित समय असोज १६ गते शुक्रबारदेखि नै सुरु हुने निर्वाचन समितिले जनाएको छ।
नयाँ कार्यतालिका यस्तो छ:
• असोज १६-१७: महाधिवेशन प्रतिनिधि दर्ता
• असोज १८: अपराह्न २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन
• असोज १९-२०: बन्दसत्र
• असोज २१-२२: नयाँ नेतृत्व चयनका लागि निर्वाचन
७ हजारको महाकुम्भ, खुलामञ्चमै सबै कार्यक्रम
१४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि थिए भने यस पटक विधान संशोधन गरी संख्या बढाइएकाले करिब ७ हजार प्रतिनिधि सहभागी हुने भएका छन्। धेरै प्रतिनिधि हुने भएपछि यस पटक उद्घाटन र बन्दसत्र दुवै काठमाडौंको खुलामञ्चमै टेन्ट टाँगेर गर्ने तयारी छ। त्यहाँ करिब ३ हजार अट्ने गरी ३ वटा बक्स बनाइनेछ।
बन्दसत्रमा सातै प्रदेशका छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक र समसामयिक दस्तावेजमाथि छलफल गराइनेछ।
डिजिटल र पेपरलेस बनाइने
केन्द्रीय निर्वाचन समितिले यस पटकको निर्वाचनलाई प्रविधिमैत्री बनाउन 'डिजिटल' र 'पेपरलेस' बनाउने वा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा महिला कानून व्यवसायीलाई निर्वाचन अधिकृत बनाउने निर्णय पनि भएको छ।
संरचना पनि फेरियो
महाधिवेशनपछि केन्द्रीय कार्यसमिति १६४ सदस्यीयबाट बढेर २३८ सदस्यीय हुनेछ। पदाधिकारी संख्या १४ बाट १७ पुर्याइएको छ। सभापतिले ६१ जना मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ।
यस पटक विधानले नै युवालाई ग्यारेन्टी गरेको छ। प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट ३५ वर्ष मुनिका १ महिला सहित ३ जना गरी देशभरबाट ४९५ जना युवा प्रत्यक्ष महाधिवेशन प्रतिनिधिको रूपमा आउने व्यवस्था छ।

Join the conversation