सुनकोशी भूगोलबाट कांग्रेस राजनीतिमा नयाँ तरंग: युवा नेता छेडुप लामा क्षेत्रीय सचिवमा निर्विरोध निर्वाचित


 सिन्धुली / सुनकोशी - नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सिन्धुली प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रीय सचिवमा सुनकोशी गाउँपालिका भूगोलका युवा नेता छेडुप लामा (मोक्तान) निर्विरोध निर्वाचित हुनु भएको छ।


क्षेत्र नं. २ को सम्पूर्ण १२ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित हुँदा सुनकोशी क्षेत्रबाट प्रतिनिधित्व गर्दै लामा सचिव जस्तो गरिमामय पदमा आउनुले सुनकोशीका कांग्रेस कार्यकर्तामा उत्साह थपिएको छ।


युवा जोश र समावेशी प्रतिनिधित्व


लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आउनु भएका छेडुप लामा तामाङ समुदाय र युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताको रुपमा परिचित हुनुहुन्छ। पार्टीभित्र गुटबन्दी चर्किरहेका बेला सुनकोशी लगायत दुर्गम भूगोलबाट युवा नेता निर्विरोध आउनुलाई अर्थपूर्ण मानिएको छ।


स्थानीय कार्यकर्ताहरुका अनुसार उहाँको निर्विरोध निर्वाचनले सुनकोशी भूगोलको आवाज अब क्षेत्रीय तहमा अझ बलियो गरी उठ्नेछ।


निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित क्षेत्रीय सचिव लामाले भन्नुभयो, "यो मेरो व्यक्तिगत जित होइन, यो सुनकोशीका सम्पूर्ण कांग्रेसजन र युवा साथीहरुको जित हो। सहमतिको लागि सहयोग गर्नुहुने सबै अग्रज र साथीहरुलाई धन्यवाद, अब हाम्रो एकता नै हाम्रो शक्ति हुनेछ।"


सभापतिमा बिजय कुवर सहित क्षेत्र नं. २ को सम्पूर्ण टिम नै निर्विरोध निर्वाचित भएपछि सिन्धुली कांग्रेसमा नयाँ एकताको सन्देश गएको छ।

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...