सिन्धुली कांग्रेसमा एकताको सन्देश : क्षेत्र नं २ को सभापतिमा बिजय कुँवर सर्वसम्मत निर्वाचित
सिन्धुली । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला क्षेत्र नं २ को क्षेत्रीय सभापति पदमा बिजय कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।
क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनमा सभापति पदका लागि कुँवरको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध रुपमा निर्वाचित भएका हुन् । उनको सर्वसम्मत निर्वाचनले सिन्धुली क्षेत्र नं २ मा पार्टी भित्र बलियो एकता र सहमतिको राजनीति रहेको पुष्टि गरेको छ ।
नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा सामान्यतया कडा प्रतिस्पर्धा हुने भएपनि सिन्धुली २ मा भने सबै पक्षको साझा सहमतिमा कुँवरलाई नेतृत्व सुम्पिएको हो ।
बिजय कुँवर सिन्धुली कांग्रेसका एक सक्रिय, संघर्षशील र सबैलाई मिलाएर लैजान सक्ने नेताको रुपमा परिचित छन् । लामो समय देखी कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनले संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
सर्वसम्मत निर्वाचित भएपछि पार्टीका अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले उनलाई सामाजिक संजालमार्फत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नवनिर्वाचित सभापति कुँवरले आफ्नो कार्यकालमा पार्टीलाई अझै चलायमान बनाउने, सबै नेता कार्यकर्तालाई समेटेर लैजाने र कांग्रेसलाई सिन्धुली क्षेत्र नं २ मा थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Join the conversation